नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको वर्तमान सरकारका मन्त्रीहरुबीच मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ वर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो ।
पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै ‘सफल’ हुने होडका कारण परिणाम दिन नसकिएको एक मन्त्री बताउँछन् ।
उनका अनुसार मन्त्रीहरूको बीचमा आपसी समन्वय भएको भए राम्रो परिणाम दिन सकिन्थ्यो तर सरकार गठन भएदेखि नै अहिलेसम्म सामूहिक भावना देखिएको छैन । अन्तरमन्त्रालय समन्वय नहुँदा सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ ।
मन्त्रीपरिषद् स्रोतका अनुसार कतिपय मन्त्रीहरूको बीचमा त बोलचाल समेत नहुने अवस्था छ । प्रधानमन्त्री ओलीले अगाडि सारेको नीति र कार्यक्रम अनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्ष नेकपाले निकालेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।