लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवन समेत नराम्रोसँग प्रभावित भएका छन् ।
विराटनगरको दक्षिणी क्षेत्रका केही वस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ । प्रदेश– १ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
बाजुरा जिल्ला भने पहिरोले आक्रान्त भएको छ । त्रिवेणी नगरपालिका– ९, पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ । बुधबार साँझदेखि निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ ।
बूढीगंगा नदी थुनिँदा नदी किनार आसपासका जनता त्रसित छन् । साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दुरीका यातायातका साधन बल्देमै रोकिएका छन् । सडकमुनिबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नु परेको बस व्यवसायीले बताएका छन् ।
बल्देबाट सदरमुकाम मार्तडीसम्म करिव १७ किलामिटर बाटोमा साना सवारी साधान मात्रै प्रयोग गर्नुपर्ने अवस्था आएको खबर सरोज यादव (विराटनगर) र दयाराम पण्डित (बाजुरा) को बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।