आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ सधैं झैं बुधबार बिहान पनि कार्यालय जाने तयारीमै थिए । त्यही बेला गोली पड्केको आवाज उनले सुने । लगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो ।
सो घटनाका कारण उनको घरका सबैजना त्राहिमाम देखिए । त्यसै बेला गोलीको अर्को आवाज पनि सुनियो । तर, विजय अझै पनि त्यसबारे खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुने–देखेका कुरा गर्दैनन्, गर्न चाहँदैनन् ।
विप्लव नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ । त्यसबारे कसैले केही कुरा सोध्न खोज्यो भने सदरमुकामवासी आफूलाई ‘केही थाहा नभएको’ भन्दै तर्किन्छन् ।
‘को विप्लव, को प्रहरी– चिन्न सकिँदैन,’ विजय भन्छन्– ‘बेकारमा फसिन्छ, बरु त्यो घटनाबारे नबोल्नु नै बेस् ।’ बुधबार भोजपुरमा भएको भिडन्तबारे प्रत्यक्षदर्शीमा देखिएको त्रासलाई शब्दचित्रमा उनिएको यो समाचार एक्सन राईको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।