रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका– २, भित्री गामको चालवाङस्थित वस्ती दुई साता अघिदेखि सुनसान छ । वस्तीमा घर छन् तर मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगलनजिक गोठमा सरेका छौं,’ चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्– ‘गाउँमा सबैको घरमा ताला–चाबी लागेको छ ।’
२२ घरधुरी रहेको यो गाउँ ६ महिनासम्म रित्तो हुन्छ । वस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ । गाउँलेका अनुसार ठाडो खोलामा आउने भेलले वर्षेनि वस्तीको तल्लो भूभाग कटान गर्दै आएको छ । २०४५ सालयता वस्तीको पुछारमा पहिरो जान थालेको सुनछहरी गाउँपालिका– २, का वडाध्यक्ष टेमन घर्तीमगर बताउँछन् ।
पहिरोपीडित थमन बुढाका अनुसार पटक–पटकका वर्षातमा गरी चालवाङका १० वटा घर पुरिएका छन् । बर्खामा ६ महिनाजति वस्ती छाड्नाले मानवीय क्षति भने भएको छैन । गाउँमा पहिरो जान थाल्दा देशमा पञ्चायती व्यवस्था थियो । बहुदल आयो, गणतन्त्र समेत आयो । तर, चालवाङवासीको दुःख हटेको छैन ।
वस्ती पहिरोको जोखिममा परेपछि गाउँले घरबारीको माया मारेर गोठतिर बसाइँ सर्छन् । ‘यस वर्ष पनि मकैबाली लगाएर गाउँले अग्ला डाँडाका गोठतिर उक्लिसकेका छन्’– स्थानीय स्वास्थ्यकर्मी दिया घर्तीमगर भन्छिन् । पहिरो जानुअघि चालवाङमा ६२ घरपरिवार थिए । अहिलेसम्म तीमध्ये ४० घरपरिवार विस्थापित भइसकेको खबर खेमबहादुर बुढाको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।