प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीका क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समय सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।
तरकारीमा विषादी परीक्षण प्रकरणमा भारतीय दूतावासको पत्रबारे आफूलाई ‘गुमराहमा राखेको’ भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायतका प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ’– मुख्यसचिवप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ।
पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकामा समेत प्रधानमन्त्री ओलीले चासो राखेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।