असार महिना– बिहेको मौसम । दिलमाया तुलाधरलाई पहिले–पहिले भए यो महिना केटा र केटी पक्षको ‘कुरो मिलाउँदैमा’ एक छिन फुर्सद हुँदैनथ्यो । तर, अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै–फुर्सद हुन्छ । दिलमाया यो असार घरमै आरामसँग बत्ती कातेर बिताउँदैछिन् ।
उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’ कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा ‘लमी’ ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे । तर, अहिले शिक्षा र प्रविधिको विकाससँगै ‘लमी’ को काम सबै केटाकेटी अफैंले फत्ते गर्ने गरेका छन् ।
फेसबुकबाट चिनजान हुन्छ । कलेजमा एक–अर्कासँग ‘प्रेम’ पर्छ । त्यसैलै अहिले केटा वा केटी खोज्न ‘लमी’ नचाहिने स्थिति हुँदै गएको छ । विगत ४० वर्षदेखि ‘लमी’ को काम गर्दै आएकी असन निवासी तुलाधर भन्छिन्– ‘लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ । अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसका पनि प्रेमी–प्रेमिका छ भन्छन्, कुरो लिएर जान पनि लाज हुन्छ ।’
त्यति बेलाका ‘लमी’ को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैनथ्यो, आफूले खोजिदिएका बेहुलीको बाटैमा निधन भयो भने उनको काजकिरिया समेत ‘लमी’ ले नै गर्नुपर्थ्यो । त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन ‘लमी’ कै बाटो अपनाउने चलन भएको बताउँदै लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र ‘लमी’ गएर बेहुली ल्याउने र घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न तथा कुराकानी गर्न पाउने चलन रहेको तुलाधरले जानकारी दिइन् ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार विवाहका बेला ‘लमी’ लाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । ‘लमी’ ले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँथ्यो । सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्ष मञ्जुर भए भने ‘लमी’ दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्थ्यो । यसरी जमानत बसेर विवाह गराउँदा त्यति बेलाको समाजमा कुनै पनि किसिमका नराम्रा घटना नभएको उनले बताए ।
माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यति बेलाको भागिदार समेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने यो प्रचलन लोप भएको जानकारी जोशीले दिएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।