विदेशमा स्थायी बसोवासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप सरकारले पेन्सन–उपदान नदिने भएको छ ।
कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकम बाहेक पेन्सन र उपदान नदिने व्यवस्था संघीय निजामती सेवासम्बन्धी विधेयकमा गरिएको छ । सेवा अवधिमै कर्मचारीले डीभी–पीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानुनी रूपमै त्यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन लागेको हो ।
अहिलेसम्म भ्रष्टाचारजस्ता फौजदारी कसुर प्रमाणित भए मात्र राष्ट्रसेवकले पेन्सन वा उपदान नपाउने कानुनी व्यवस्था छ । कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम भने फौजदारी अभियोग प्रमाणित भएकाले पनि पाउँछन् । फौजदारी अभियोग प्रमाणित भएको कसुरदार सरह अब सेवा अवधिमै विदेशको डीभी वा पीआर लिने कर्मचारीले पेन्सन र उपदान नपाउने व्यवस्था कानुनमा गर्न लागिएको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले दिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।