नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर, सरकारले भने सो पार्टीलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ ।
दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारिक रूपमा पत्राचार नगरेपछि विप्लव नेकपाले सरकारबाटै वार्ताको भ्रम छर्ने काम भएको आरोप लगाएको छ । ‘हामी राजनीतिक रूपमा निकास दिनका लागि वार्तामा बस्दै नबस्ने भन्ने पक्षमा छैनौं,’ विप्लव नेकपाका एक नेताले भने– ‘तर, सरकारले आधिकारिक रूपमा वार्ताका लागि पत्र नै पठाएको छैन ।’
सरकारले वार्ताका लागि कुनै शीर्ष नेतृत्वसँग छलफल नगरेको बताउँदै केही स्थानीय तथा जनवर्गीय संगठनका नेतासँग ‘वार्ताको वातावरण तयार पार्न’ छलफल गरेको जानकारी एक केन्द्रीय नेताले दिए । यद्यपि सरकारले आफूहरूसँग वार्ताका लागि कुनै औपचारिक पहल भने नगरेको उनको दाबी छ ।
‘अहिलेसम्म हाम्रो तर्फबाट वार्ताका लागि केन्द्रीयस्तरमा कुनै छलफल नै भएको छैन,’ उनले भने– ‘केही सामान्य छलफलकै आधारमा वार्ताको कुनै टुंगो लाग्ने कुरा नै हुँदैन ।’ विप्लव र वार्तासम्बन्धी यो खबर सविन शर्माको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।