पार्टी एकीकरण भएको १४ महिनापछि एकताका सबै काम सम्पन्न गर्ने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटेसँगै सत्ताधारी नेकपाभित्र विभाग र आयोगहरूको प्रमुख बन्न चर्को दौडधुप सुरु भएको छ ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन र विभाग तथा आयोगहरूबारे अध्यक्षद्वयबीच मंगलबार सहमति जुटेको हो । यो सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ । पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वाधिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिएका छन् ।
संगठन विभागको प्रमुख बन्न सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेलले पनि पहल तीव्र पारेका छन् । तर, शीर्ष नेताहरुबीच गौतमलाई नै संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ । त्यसैगरी, विदेश विभागमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धारत छन् ।
यद्यपि विदेश विभागको नेतृत्व वरिष्ठ नेता नेपालले नै पाउने बताइँदैछ । यस्तै, स्कुल विभागमा ईश्वर पोखरेल र प्रचार विभागमा नारायणकाजी श्रेष्ठ वा पम्फा भुसालमध्ये एकले नेतृत्व गर्ने सम्भावना प्रबल रहेको खबर बिहीबारको नेपाल समाचारपत्र र कान्तिपुर दैनिकमा प्रकाशित छ ।