वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका ५ सहित ६ जना कम्बोडियामा अलपत्र परेका छन् । उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन् ।
दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोकको महादेवस्थानका विनोद खरेल छन् । प्युठान बरौला ३ घर भई ललितपुर– २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए ।
सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोको सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए । गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन् । सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास– ७, कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए ।
मानव बेचबिखनमा संलग्नलाई हदैसम्मको कारबाही गर्ने कानुनी व्यवस्था छैन । यसरी ठगी गर्नेमाथि कडा कारबाही नहुँदा विभिन्न मुलुकमा रोजगारीको लोभमा परेर नेपाली नागरिक ठगिएका छन् । स्थलमार्गबाट अमेरिका र युरोप लैजाने जालोजस्तै दलालले अन्य विभिन्न जालो बुनिरहेको खबर शनिबारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।