जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर, दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ ।
कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो । गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र केको हो भन्ने पत्ता नै पाएनन् । तर, जब आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए ।
खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो । बसाइँसराइको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्यु दर्ताको प्रमाणपत्रमा रुजु गरेका छन् । तर, उनको अन्यत्रै सरुवा भइसकेको छ।
‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्– ‘वृद्धभत्ता मिलाइदिन भनेर बा–आमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो । तर, बा–आमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो ।’ कर्मचारीको लापरबाहीको हदसम्बन्धी यो खबर हिक्मतबहादुर नेपालीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।