काठमाडौं उपत्यकामा सीसी क्यामराको प्रभावकारिता बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै सीसी क्यामराको फुटेजका आधारमा उपत्यकाभित्र प्रहरीले एक वर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।
उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सीसी क्यामराको प्रयोगमा जोड दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए ।
उनले भने– ‘उपत्यका काठमाडौंका सबै नाकामा सीसी क्यामरा जडान गरिएका छन्, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि धमाधम उपत्यकाभित्र सीसी क्यामरा जडानको काम भइरहेको छ ।’ प्रविधिको सहयोगमा शान्ति–सुरक्षाको नयाँ अभ्याससम्बन्धी यो खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।