सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ ।
उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाका शीर्ष नेताहरू सम्मिलित ९ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूको मात्र नामावली सार्वजनिक गर्यो ।
विभागहरूबारे छलफल गर्न मंगलबार फेरि बैठक बोलाइएको छ । सचिवालयमा रहेका अध्यक्षद्वय र महासचिव बाहेकका नेताले पार्टीभित्र महत्त्वपूर्ण मानिने विभागहरू लिने सैद्धान्तिक समझदारी छ । त्यसअनुसार वरिष्ठ नेताद्वय माधव नेपालले विदेश र झलनाथ खनालले नीति तथा अनुसन्धान विभाग लिने सहमति भएको छ ।
त्यस्तै, वामदेव गौतमले संगठन विभाग सम्हाल्नेछन् । पोखरेलले संगठन र स्कुल विभागमध्ये एक आफूलाई दिए हुने बताएका थिए । गौतमलाई संगठन दिइने समझदारी भएपछि स्कुल विभाग स्वतः आफूले पाउनुपर्ने उनको अडान छ । पूर्वमाओवादी पक्षले भने स्कुल विभाग आफ्नो भागमा राखेर त्यसको नेतृत्व श्रेष्ठलाई दिनुपर्ने दाबी गरिरहेको छ ।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा बसेको पूर्वमाओवादी पक्षधर नेताहरुको बैठकमा नेताहरूले स्कुल विभागको दाबी छोड्नु नहुने धारणा राखेको खबर दुर्गा खनालको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।