सत्तारूढ नेकपा अमेरिका र भारतप्रति ‘नरम’ देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरिएको दस्तावेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति ‘नरम’ नीति लिएको हो ।
राजनीतिक दस्तावेजका दुई ठाउँबाट ‘अमेरिकी’ शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण ‘नरम’ बनाइएको छ । दस्तावेजमा अमेरिकी नीतिका कारण व्यापारयुद्ध हुन सक्ने सम्भावना औंल्याइएको थियो । अमेरिकाले अन्य मुलुकबाट आयातीत वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापारयुद्ध हुन सक्ने आशंका समेत गर्न थालिएको दस्तावेजमा उल्लेख थियो । तर, अहिले छापिँदै गरेको दस्तावेजमा ‘अमेरिकी’ शब्द झिकेर ‘पश्चिमा शक्तिराष्ट्रहरू’ भन्ने शब्द राखिएको छ ।
त्यस्तै, अर्को ठाउँमा ‘अमेरिकी’ शब्द झिकेर वाक्यलाई अमूर्त बनाइएको छ । २० हजार प्रति छाप्ने योजना अनुसार नेकपाको प्रतिवेदन प्रेसमा छ । भारतको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ । दस्तावेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरिएको ‘भारतीय व्यवहार’ झिकेर ‘वैदेशिक प्रतिक्रियावादी शक्ति’ राखिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।