केही दिन पहिलेको वर्षाले क्षति पुर्याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुशी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बर वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।
गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँमा पाइने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजारमूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजारमूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्यवृद्धि भएको छ । घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौंला, हरियो फर्सी, इस्कुस, गोलभेंडालगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ । गत आर्थिक वर्षको ११ साउनमा कालीमाटीमा गोलभेंडाको प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गोलभेंडाको मूल्य न्यूनतम १ सय रुपैयाँ र अधिकतम मूल्य १ सय १० रुपैयाँ पुगेको समितिले जनाएको छ ।
कालीमाटी बजारभन्दा अन्य ठाउँमा सोही गोलभेंडाको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उपभोक्ता बताउँछन् । यसैगरी, गतवर्ष घिरौंलाको न्यूनतम मूल्य ६० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घिरौंलाको प्रतिकिलो मूल्य १ सय २० रुपैयाँ पुगेको छ । यो पनि गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको खबर आइतबारको पत्रपत्रिकामा प्रकाशित छ ।