चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
यस सडकका कोटेश्वर र धोबीघाट गरी दुई स्थानमा चीन सरकारले नै आकाशे पुल निर्माण गरेको थियो । विभागले पुल निर्माणका लागि दुई वर्षअघि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेका त छन् तर अहिलेसम्म कुनै पुल पनि सम्पन्न भइसकेका छैनन् ।
सानेपा, बल्खु र महालक्ष्मीस्थान बाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको विभागका इन्जिनियर निरञ्जन शर्माले बताए । उनका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, दुई वर्षभित्र नबनेका पुल यो असारमा पनि सम्पन्न हुन सकेनन् ।
‘६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर, कुनैमा काम आधा पनि सकिएको छैन भने कुनैमा सुरु समेत भएको छैन’– उनले बताएको खबर सोमबारको पत्रपत्रिकामा प्रकाशित छ ।