प्रधानमन्त्रीको सरकारी निवासको बालुवाटारस्थित बहुचर्चित जग्गा प्रकरण (ललितानिवास प्रकरण) मा मुछिएका नेपाली कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन् । राजधानीको माछापोखरीस्थित ‘हिमालय सिटी सपिङ सेन्टर’ को ८औं तलाबाट हामफालेर उनले आत्महत्या गरेको जानकारी प्रहरीले दिएको छ ।
निजामति कर्मचारीका पूर्व नायव सुब्बा (नासु) रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बहानामा त्यहाँ पुगेका श्रेष्ठ ८औं तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपल्स अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ललितानिवास जग्गा घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनावमा थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठको शवको पोस्टमार्टम बुधवार गरिने पारिवारिक स्रोतले जनाएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।