पार्टी एकीकरण भएको ढेड वर्षको अवधिमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले असाध्यै जटिल मानिएका सांंगठानिक एकीकरणका अनेकौं काम सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणलगायतका काम सो पार्टीले सम्पन्न गरिसकेको छ ।
एकीकरणअन्तर्गत अब विभाग र आयोगहरुका प्रमुखहरुको टुंगो लगाउने काम मात्र बाँकी छ । पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमल्लिँदै आएको नेकपाभित्र यो मामला भने पूर्वएमाले र पूर्वमाओवादी समूहबीच प्रतिष्ठाको विषय समेत बन्न पुगेको छ । सांगठानिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेर लामो समयसम्म संवाद नै नहुने अवस्थाबाट समेत नेकपा गुज्रँदै आएको छ ।
जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णता दिने अन्तिम तयारीमा पुगे पनि ‘स्कुल विभाग’ को नेतृत्व कसले लिने भन्ने विषयलाई ‘प्रतिष्ठा’ बनाइएपछि एक साताअघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिँदै गएको र ‘हात्ती छिर्यो, पुच्छर अड्क्यो’ भनेजस्तै अवस्था देखिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।