सामूहिक बलात्कारको एक घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर ‘मिलापत्र’ गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
रंगेली– ९, संखुवाथानकी १६ वर्षीया एक अशक्त किशोरीलाई स्थानीय तीन युवाले २० असारमा बलात्कार गरेको अलि ढिलो खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बतात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको ‘पञ्चायत’ बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए ।
किशोरीको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ ६ साउनभित्र दिनुपर्ने भन्दै रोमनका बाबु चेतबहादुर मगरलाई सहीछाप गराएर ‘पञ्च’ ले घटना मिलापत्र गराएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।