सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्रीपरिषद हेरफेर गर्नु जरुरी रहेको बताएका छन् । केही मन्त्रीको काम र योग्यता कमजोर देखिएको उनको भनाइ छ ।
झापाको बिर्तामोडमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले सरकारका कामकारबाहीको पार्टीले समीक्षा गर्ने बेला भएको बताए । पार्टीमा स्कुल विभागको जिम्मेवारी लिन आफू तयार रहेको पनि उनले बताए । स्कुल विभाग चलाउन आफू सक्षम रहेको बताउँदै उनले भने– ‘म प्रधानमन्त्री भएर देश चलाएको मान्छे हुँ, पार्टीले दिन्छ भने स्कुल विभागको जिम्मेवारी किन नलिने ?’
स्कुल विभागको विवाद मिडियाले चलाएको आरोप खनालले लगाए । पार्टीभित्र विवाद नभए पनि मिडियाले तीव्रताका साथ बहस चलाएर स्कुल विभागमा विवाद देखाएको दावी उनले गरे । स्कुल विभाग जसलाई दिए पनि ठूलो कुरा नभएको टिप्पणी उनले गरे । ‘स्कुल विभाग मलाई दिए पनि हुन्छ; ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई दिए पनि आपत्ति छैन,’ उनले भने– ‘विभागहरु गठन गर्ने विषयमा थप गृहकार्य गर्ने सहमति भएको छ, हामी आगामी २८ गतेसम्म गृहकार्य गर्छौं ।’
थप गृहकार्य र सहमतिबाट पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुंग्याउन लागिएको नेता खनालले बताए । ‘एकीकरण प्रक्रिया करिव एक वर्ष निष्क्रिय रह्यो, यसले पार्टीलाई ठूलो क्षति पुगेको छ तर वडा कमिटीसम्म र जनवर्गीय संगठनलाई पनि अघि बढाएर यो प्रक्रियालाई चाँडै टुंग्याउने प्रयास गरिरहेका छौंं’– उनले भनेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।