newskoseli.Com

विप्लव नेकपामा ‘शुद्धीकरण’ : १७ नेताको ‘घटुवा’, स्थायी समिति र पोलिटब्युरो भंग, केहीमाथि ‘कारबाही’ हुने !

‘शुद्धीकरण अभियान चलाउन’ भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको खबर छ ।

केही दिनअघि बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले ५ सदस्यीय स्थायी समिति र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब सो पार्टीका सबै कमान्ड महासचिव विप्लव आफैंले सम्हाल्ने भएका छन् । पार्टीभित्र ‘विकृति मौलाएको’ उल्लेख गर्दै विप्लव नेकपाले १७ जना केन्द्रीय सदस्यहरुलाई समेत जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।

‘५० जना केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने– ‘घटुवा गरे पनि उहाँहरुलाई खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेकाले हटाइएको उनको भनाइ छ । ‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ’– उनले भने । विप्लव नेकपाका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको र जिम्मेवारी दिइएको कार्यक्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको छ र केहीलाई बर्खास्त गरिएको छ ।

सो पार्टीको स्थायी समितिमा महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर थिए । विप्लव बाहेकका यी चार नेतालाई अब सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ । पोलिटब्युरो सदस्यहरु भरत बम, अनिल शर्मा, ओमप्रकाश पुन, उमा भुजेल, वीरजंग र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ भने पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यकै जिम्मेवारीबाट समेत हटाइएको छ ।

केन्द्रीय सदस्यहरु रामप्रसाद तिमल्सिना, शंकर खड्का, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोत्तम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायतका १७ जनालाई केन्द्रीय सदस्यबाट हटाइएको ती नेताले जानकारी दिए । ‘केही सदस्यले पार्टीभित्रको गोपनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका छन्,’ उनले भने– ‘त्यही कारण पार्टीको शुद्धीकरण अभियान चलाइएको हो, पार्टीले तीन वटै कमिटीका सदस्यहरुलाई नयाँ ढंगले जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको छ ।’

सरकारले ‘प्रतिबन्ध’ लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दावी उनले गरे । दर्जनभन्दा बढी कार्यकर्तामाथि पार्टीले निगरानी गरिरहेको जानकारी दिँदै केही दिनभित्र पार्टी निष्कर्षमा पुग्ने उनले बताएको खबर दीपेन्द्र विष्टको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

के हो विप्लवको राजनीति ? हेर्नोस् तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर