नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई ‘नेपाली सर्वहारा–श्रमजीवी वर्गको दल’ का रूपमा व्याख्या गरेको छ । १४ महिनाअघि सम्पन्न नेकपाको केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ ।
‘वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ’ भन्दै राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणतर्फ अगाडि बढ्नु नै पार्टीको मुख्य कार्यदिशा’ भनी प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक–शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको खबर सुभाष साहको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।