पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ ।
केन्द्रीय कार्यसमिति बुधबारको बैठकमा देउवाले महाधिवेशन नगराई आफ्नै नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिन खोजेको धारणा पौडेलले राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको र पौडेलहरु ‘हिरो’ देखिन खोजेको भन्दै देउवाले आपत्ति जनाए ।
महाधिवेशन कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठकको सुरुमै बोलेका पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरु सहभागी नहुने बताएको खबर कुलचन्द्र न्यौपानेको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।