नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत सरकारले दिएको छ । सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई पार्टीभित्र ‘कारबाही’ समेत गरेको छ ।
यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग गर्ने संकेत दिएको हो । सरकारले ‘प्रतिबन्ध’ लगाएको विप्लव नेकपाले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो ।
नियमित बिफ्रिङका क्रममा सुरक्षा निकायका प्रमुखहरुले विप्लव नेकपाका ‘विध्वंसात्मक गतिविधि’ नियन्त्रण गर्न ‘कडा कदम’ चाल्नुपर्ने धारणा गृहमन्त्री समक्ष राखेका छन् । विप्लव नेकपालाई नियन्त्रण गर्न नेपाल प्रहरीको साथमा औपचारिक रुपमै सशस्त्र प्रहरी समेत खटाउन गृहमन्त्री रामबहादुर थापालाई उनीहरुले सुझाएका छन् ।
शुक्रबार भएको चार घन्टा लामो बिफ्रिङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले गृहमन्त्री थापालाई देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै विप्लव नेकपाले देशभर आफ्ना गतिविधि बढाउन खोजेको, ‘चन्दा आतंक’ झन् बढाएको, सरकारी कार्यालय र सम्पत्तिमा क्षति पुर्याउन थालेको बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।