डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय परेकै बेला भारतबाट स्किम मिल्क पाउडर (एसएमपी) को आयात समेत बन्द हुँदा उद्योगमा दूधको अभाव भएको हो ।
दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतीस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नेभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाएको छ । ‘एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा शनिबार एक पोका दूध पनि बजारमा पठाउन सकिएन’– नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालिका सञ्चालक दीपक खड्काले भने ।
दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटर मात्र नियमित उत्पादन भइरहेकामा त्यो पनि घटेर ६ हजार पुगेको छ । राजधानी आसपासमा नोभाजस्ता तीन दर्जन डेरी उद्योग छन् । मुलुकभर दुई सयको संख्यामा डेरी उद्योग दर्ता भई सञ्चालनमा छन् ।
करिव ३० अर्ब रुपैयाँको लगानी रहेका निजी दुग्ध उद्योगहरुको लगानी डुब्ने खतरा रहेको भन्दै उद्योगीहरुले सरकारसँग दुग्ध आपूर्ति सहज बनाइदिन माग गरेको खबर किरण आचार्यको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।