चट्टानसहितको पहिरोले गतवर्ष बडिगाड खोला थुनिएर ताल बन्यो । ढोरपाटन– २ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो । उनले अढाई महिनाजति ताल फुटाएर निकास दिन प्रयास गरे। केही उपाय लागेन ।
बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ‘जनप्रतिनिधि’ भने ताललाई पर्यटकीय गन्तव्य बनाउनतिर लागे । हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो । थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे । आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो । किराना र चनाचटपटको व्यापार पनि बढ्दो थियो ।
तर, फेरि एकाएक ताल फुटेपछि पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना चकनाचुर भएको छ । स्थानीयवासी सुरुमा ताल सुकाउन लागेका थिए । जनप्रतिनिधि र अरूको कुरा सुनेपछि उनीहरूको सोच परिवर्तन भएको थियो । ‘तत्काल फुटाउने सम्भावना नदेखिएपछि यसलाई आम्दानीको स्रोत बनाउने सोच बनायौं,’ स्थानीय चूडाबहादुर कुमालले भने– ‘अब त केही हुन्छ कि भन्ने आशा र सपना पलाउँदै थियो तर प्रकृतिले हामीमाथि पटक–पटक अन्याय गर्यो।’
गतवर्ष पहिराले खोलाे थुन्दा आफैं बनेको बागलुङको तुरतुरे ताल यसपालि आफैं फुट्दाको जनचासोसम्बन्धी यो खबर दिल शिरीषको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।