प्रतिनिधिसभामा करिव दुईतिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको सो पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट पारेको छ ।
मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको मुद्दा उठाउँदै आएका छन् । उनीहरूले संविधान संशोधनको मुद्दामा बेला–बेला संसद् अवरोध गर्नुका साथै आन्दोलन गर्ने बताउँदै आएका छन् । सङ्घीय समाजवादी फोरम संविधान संशोधनको शर्तमा वर्तमान सरकारमा सहभागी छ । उसले बेला–बेला संविधान संशोधनको मुद्दा उठाउने गरेको छ ।
नेकपाले प्रकाशनमा ल्याएको तर वितरण नगरेको राजनीतिक दस्तावेजमा ‘संविधान गतिशील दस्तावेज हो’ भनेको छ । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ता बाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय नरहेको दस्तावेजमा उल्लेख छ ।
‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ता बाहेक नेपाली जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित भएको’ उल्लेख गर्दै नेकपाले यसलाई दूरगामी महत्त्वको परिवर्तन भनेको खबर सुरेशकुमार यादवको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।