उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामती कर्मचारी ‘बेवारिसे’ बनेका छन् ।
गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १०औं तह (उपसचिव) सम्मका निजामती कर्मचारीलाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् । समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे ।
कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए । तर, उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।