नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि सो पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्ने क्रम प्रहरीले झन् तीव्र पारेको छ । पछिल्लो समय वार्ताप्रति सरकार अनुदार बन्दै गएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘वार्तामा आए रातो कार्पेट बिछ्याइने’ बताए पनि गृह मन्त्रालय मातहतका सुरक्षा निकायले भने सो पार्टीका नेता–कार्यकर्ता धमाधम पक्राउ गर्दै गएपछि सरकार वार्ताप्रति अनुदार बन्दै गएको देखिएको हो ।
असार २८ को मन्त्रिपरिषद् बैठकले तत्कालीन वार्ता समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाएर विप्लव नेकपासँग वार्ता प्रक्रिया अघि बढाउने आशयको निर्देशन दिएको थियो । तर, सो निर्देशन समेत निरर्थकजस्तै देखिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।