नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट) को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । विस्फोटक पदार्थको माग बढ्दै गएपछि सेनाले वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पुर्याउने तयारी थालेको हो ।
हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । अघिल्लो वर्षको यसै अवधिसम्म सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो ।
सेनाले एक वर्षभित्रै १ हजार २ सयबाट २ हजार ४ सय मेट्रिक टन हुँदै उत्पादन क्षमता ३ हजार ६ सय मेट्रिक टन पुर्याएको थियो । विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाउने तयारी अघि बढाएको बताइएकाे छ ।
सेनाले अहिले नेपाली सेनाको कल्याणकारी कोषमार्फत विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३० करोड रुपैयाँ लगानी गरिरहेको छ । सेनाले थप २ करोड लगानी बढाएर उत्पादनलाई दुई सिफ्टमार्फत दोब्बर बनाउने लक्ष्य लिएको खबर महेश्वर गौतमको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।