सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चाँडै हुने काम गर्न दुई–तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो ।
कार्यालय समयमा कर्मचारी बाहिर निस्कँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य रुपमा ‘लगबुक’ भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउने निर्देशनसँगै सोको पालना गर्ने र गराउने बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भुपाल बरालको भनाइ छ ।
उनका अनुसार सेवा प्रवाह चुस्त बनाउन र जवाफदेहिता बढाउन हरेक महिना बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ । अबदेखि मन्त्रालय र मातहतका निकायले प्रत्येक महिनाको १ गते दिउँसो काम, गतिविधि र कामको प्रभावकारितासम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।