भदौ १ देखि लागू हुने गरी दूधको मूल्य बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।
दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दुग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।
‘उपभोग्य वस्तुलगायत पशु आहारा– ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामो समयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,’ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने– ‘मूल्य बढाउनुनको विकल्पै छैन, साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं ।’ कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दै मूल्यवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको उनले बताएको खबर किरण आचार्यको बाइलाइनमा सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।