सशस्त्र प्रहरीको नेतृत्व पंक्तिले राजनीतिक दलका नेता रिझाउन आफ्नो जनशक्तिको दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेका हुन् ।
सशस्त्र प्रहरी बल मुख्यालयबाट प्राप्त विवरणमा सशस्त्रले कूल ५ सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ । नेता–कार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रको नेतृत्वले संगठनको मर्म र उद्देश्यविपरीत काम गरेको देखिएको छ ।
कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ । त्यस बाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ । तर, सशस्त्रले नेता, मन्त्री र कार्यकर्ताले माग गरेकै आधारमा उनीहरूले भनेजति जनशक्ति सोझै उपलब्ध गराएको छ ।
यसबाहेक धेरैजसो नेताले आफू पद (शक्ति) मा भएका बखत मागिएका सशस्त्र फौजलाई पदबाट हटेपछि फिर्ता नगरेर आफ्नो घरायसी काममा उपयोग गरिरहेका छन् । सशस्त्रले पूर्वमहानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलाई समेत जथाभावी फौज दिएर दुरुपयोग गरेको छ ।
नेता, मन्त्री र राजनीतिक दलका कार्यकर्ताका लागि परिचालित फौजसहित गाडी, तेल, रासन, मर्मत खर्च सबै सरकारको थाप्लामा पर्ने गरेको खबर विकास थापाको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।