रूख ढलेर किच्दा भारतको हिमाल राज्यमा मजदुरी गर्दै आएका दुई नेपालीको मृत्यु भएको छ । हिमाल राज्यअन्तर्गत सिमला जिल्लाको नारखण्डामा दुई दिनदेखिको लगातार वर्षाका कारण आइतबार रुख ढल्दा सात नेपालीमध्ये दुईको मृत्यु भएको हो ।
उनीहरु बस्दै आएको घरमाथि भारतीय समयअनुसार आइतबार बिहान करिव नौ बजे एउटा ठूलो रुख ढल्दा सात नेपाली गम्भीर घाइते भएका थिए । विनाउना राप्ती सोनारी– ५, चिलहरिया, बाँकेका सनबहादुर पुनमगर र अर्जुन बुढामगरको मृत्यु भएको हो । मृत्यु भएका ४५ वर्षीय सनबहादुर चार वर्षदेखि नराखन्डामा मजदुरी गर्दै आएका थिए भने १९ वर्षीय अर्जुन बुढामगर चाहिँ १५ दिनअघि मात्रै त्यहाँ पुगेका थिए । पारिवारिक स्रोतका अनुसार उनी पहिलो पटक भारत आएका थिए ।
राप्ती सोनारी– ५, चिलहरियाका बलबहादुर पुनमगर, रमन पुनमगर, सनलाल पुनमगर, रणवीर घर्तीमगर र कृष्ण थारु घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।