अहिले करोडौं नेपालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्न समेत गरिरहेका छन्– ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको जनाउँदै उनको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । डा. शर्माका अनुसार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्री ओलीको उपचार थालिएको छ । उनको शरीरबाट एन्टिबडी हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ’– शर्माले भने ।
प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको जानकारी डा. शर्माले दिए । प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
प्रधानमन्त्रीको मिर्गौला फेरि फेर्न सकिने
उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्नेबारे छिट्टै निर्क्योल हुने वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए । उनले भने– ‘उहाँका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन्, उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन तसर्थ मिर्गौला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ, सजिलै प्रत्यारोपण हुन सक्छ ।’
प्रधानमन्त्रीको उपचार प्रक्रियास्रम्बन्धी यो खबर प्रशान्त वलीको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।