देख्नेहरुले ‘बिबिरानी’ भनिने रिना तामाङलाई चिनियाँ ठान्छन् । चिनियाँ भाषा पनि राम्रै बोल्छिन् । हेलम्बु, सिन्धुपाल्चोककी उनी ‘म्यारिज ब्युरो’ मार्फत चिनियाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर, पछि उनका पतिको मृत्यु भयो ।
त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यिनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले बुधबार पक्राउ गर्यो । आरोप छ– उनले म्यारिज ब्युरोका नाममा नेपाली गाउँले चेलीलाई चिनियाँ नागरिकसँग ‘बिहे’ गराउने धन्दा चलाएको । पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् ।
दुर्गमका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनीयाँसँग ‘बिहे’ गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन् । यसलाई मानवतस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले बुधबार मात्र ४ चिनियाँसहित ६ नेपालीलाई पक्राउ गरेको खबर जनकराज सापकोटाको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।