चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अहिलेसम्म अत्तोपत्तो छैन । तर, उनीहरूका लागि भनेर किनिएका आठ वटा गाडी भने डेढ महिनादेखि थन्किएका छन् । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा थन्क्याइएका ती गाडी नबिऊन् भनेर दुई जना चालकले हरेक बिहान ‘स्टार्ट’ गर्ने गरेका छन् ।
कर्मचारीका लागि १५ सिटे माइक्रोबस पनि किनिएको छ । तर, त्यहाँ खटाइएका चालकसँग कार मात्र चलाउन सक्ने अनुभव भएकाले माइक्रोबस चलाउने आँट नगर्दा राष्ट्रिय परीक्षा बोर्डले आफ्ना कर्मचारीलाई ओसार्ने गरेको बसबाट नै आयोगका कर्मचारी पनि यात्रा गर्ने गरेका छन् ।
आयोगका सदस्यसचिव चन्द्रकान्त भुसालले भने– ‘पदाधिकारीहरू आउनासाथै गाडी चाहिन्छ भनेर पहिले नै किनेर व्यवस्थापन गरेका हौं । गाडी प्रयोगमा आउन नसक्दा बिग्रन सक्ने भएकाले हरेक दिन एक छिन स्टार्ट गर्ने गरेका छौं ।’
गत आर्थिक वर्षदेखि करारमा दुई जना चालक राखिएका छन् । एक जनाले सदस्य सचिवको गाडी चलाउँछन् भने अर्का चालकलाई थन्क्याइएका ती गाडी दैनिक स्टार्ट गरेर बन्द गर्ने जिम्मेवारी दिइएको छ ।
आयोगका उपाध्यक्षका लागि सबैभन्दा महँगो गाडी किनिएको छ । उक्त स्पोर्टेज गाडीको करिव एक करोड रुपैयाँ पर्दछ । सबै गाडी खरिद गर्दा करिव पाँच करोड रुपैयाँ खर्च भएको आयोगका कर्मचारीहरू बताउँछन् । गाडी असारको अन्तिम साता नै खरिद गरिएका हुन् ।
एउटा गाडी उपाध्यक्षका लागि, चार वटा गाडी चार जना निर्देशकका लागि र एउटा गाडी सदस्य सचिवका लागि किनिएको हो भने एउटा गाडी अतिरिक्त र एउटा माइक्रोबस कर्मचारीका लागि किनिएको छ । सदस्य सचिवका लागि किनिएको गाडी मात्र हाल प्रयोगमा आइरहेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।