नेपालगञ्ज उपमहानगरपालिका, बाँकेबाट दैलेखतर्फ लैजान लागिएकामध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।
प्रहरीले पाँच जना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो । ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जीसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बीसीलाई जिल्ला अदालत सुर्खेतले ‘गोबध’ मुद्धामा अनुसन्धान गर्न म्याद दिएको हो ।
नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कान्जी हाउसमा रहेकामध्ये ३ सय ७० गाई, केही गोरु र बाच्छा–बाच्छीलाई दैलेखको भैरवी गाउँपालिका– १ को श्रीस्थान पुर्याउन खोजेको थियो । सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयविनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएका थिए ।
त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेको खबर नगेन्द्र उपाध्यायको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।