नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई ‘भनेअनुसार चन्दा नदिए आक्रमण गर्ने धम्की’ दिएको आरोप ती कम्पनीले लगाएका छन् ।
दावी गरिएअनुसार नेकपाले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो । पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियानमा सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल नै गरेका थिए । चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन् ।
‘दलाल पुँजीपति तथा उद्यमी–व्यवसायीहरू, एकाधिकार पुँजी र भ्रष्टहरू निशानामा रहेको’ भन्दै विप्लव नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको बताइएको छ । ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्’– एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने । सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।