newskoseli.Com

‘वार कि पारको अन्दोलन’ मा संघर्ष समिति : मेलम्चीको सम्पूर्ण काम ठप्प

आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको भन्दै ‘सीएमसीपीडित संघर्ष समिति’ ले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै बुधबारदेखि आयोजनाको काम ठप्प पारी सीएमसीपीडित संघर्ष समितिले आन्दोलन थालेको हो ।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छाडेर भागेपछि समितिले उसको करारमा रहेका लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग राखेको छ । समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलन स्थगित गरेको थियो ।

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । ‘हामी हाम्रो मागप्रति कठोर छौं । काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो । हामीले दोस्रो पटक आज (बुधबार) देखि फेरि आन्दोलन थाल्यौं,’ उनले भने– ‘यो वार कि पारको आन्दोलन हो । ’

सीएमसीको २ अर्ब १० करोड बैंक ग्यारेन्टी र डेढ अर्बको सम्पत्ति यहीं रहेकाले त्यहींबाट ठेकेदारलाई भुक्तानी दिनुपर्ने समितिको माग छ । निर्माण कम्पनी, स्थानीय भेन्डर र मजदुर गरी १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी लिनुपर्ने बाँकी छ । स्थानीय भेन्डरको साढे १६ करोड र ८ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपैयाँ रकम भुक्तानी हुनै बाँकी रहेको खबर सुरेश तामाङको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर