कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन ।
उत्तरी गोरखास्थित गुरुङ समुदायको बसोबास रहेका वस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन् । दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ । जसले ल्याएको दाउराको भारी हो, त्यसलाई केटीले बोकेर उही केटाको घरमा लगेर छाडिदिइन् भने विवाह अस्वीकार गरेको बुझ्नुपर्छ ।
यस्तो प्रथा धार्चे गाउँपालिकास्थित लापुलगायतका सात वटै वडाका गाउँवस्ती, बारपाक, स्वाँरा, सौरपानी, घ्याच्चोकलगायतमा प्रचलित छ । यसरी गरिएको विवाहमा न लाखौं खर्च हुन्छ न त झन्झट । ‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका– ५, यमगाउँका टेकबहादुर गुरुङ भन्छन्– ‘दाउराको भारी फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ । अनि केटाले बिस्तार–बिस्तार केटीको घरमा गएर काम सघाउन थाल्छ । केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ ।’
यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्याउने चलन रहेको खबर शिव उप्रेतीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।