सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि चर्को दबाब बढेको छ ।
प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्योपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताहरुले पार्टीको काम चुस्त रुपमा अघि बढाउन प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन् । पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन् ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नुपर्ने बताउँदै सरकार पार्टी अध्यक्षको हैसियतले केपी शर्मा ओलीले चलाउनुपर्ने र पार्टी चलाउने कार्यकारी जिम्मा अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने बताएका छन् । सचिवालय बैठकमा नेता माधवकुमार नेपालले पार्टीभित्र ‘एक पद, एक व्यक्ति’ को अवधारणा लागू हुनुपर्ने प्रस्ताव राखेका छन् । नेपालको प्रस्तावलाई बल पुग्नेगरी स्थायी कमिटी सदस्य ज्ञवालीले पनि सार्वजनिक रुपमै ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को अवधारणा अनुसार पार्टी चल्नुपर्ने बताएका हुन् ।
नेकपाका अर्का नेता एवं कृषिमन्त्री चक्रपाणि खनालले पनि दाहाललाई कार्यकारी अधिकारसहित पार्टी चलाउन दिनुपर्ने र ओलीले सरकार चलाउनुपर्ने बताउँदै आएका छन् । अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि नेताहरुको जिम्मेवारी ठोस र मूर्त हुनुपर्ने धारणा राख्दै आएका छन् । ‘नेताहरुको जिम्मेवारी ठोस र मूर्त भयो भने कामको परिणाम राम्रो निस्कन्छ,’ पौडेलले भने– ‘त्यसो हुँदा जिम्मेवारी पाएको व्यक्तिलाई कामको स्वामित्व, अपनत्व र जिम्मेवारीबोध बढी हुन्छ ।’
उनका अनुसार प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि नै धेरै लचिलो देखिएको अनुभूति भएको छ । पार्टीका अर्का अध्यक्ष दाहाललाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिनु, क्याबिनेट बैठक भिडियो कन्फ्रेन्समार्फत गर्नुजस्ता कुराले ओली धेरै लचिलो भएको प्रस्ट भएको पौडेलले बताए । ‘पार्टी र सरकार उत्तिकै जिम्मेवारीबोधका साथ सञ्चालन गर्नुपर्ने विषय हुन् । त्यसकारण पार्टी र सरकारको कार्यविभाजन गर्दा एकले अर्कालाई सुझाव र सहयोग दिने गरी ठोस कार्यविभाजन गर्दा राम्रो हुन्छ’– पौडेलले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।