newskoseli.Com

‘धपेडी नगर्न’ प्रधानमन्त्री ओलीलाई चिकित्सकको सुझाव : तर, यस्तो छ उनको व्यस्त दिनचर्या

सिंगापुरमा दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । आइतबार उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाके । त्यहाँ केही सचिव बढुवा र चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा हुने एजेन्डासम्बन्धी विषयमा छलफल गरे ।

आइतबार नै सरकारले आयोजना गरेको निजामती सेवा दिवससम्बन्धी औपचारिक कार्यक्रम थियो । विगतमा प्रधानमन्त्री नै त्यो कार्यक्रममा जान्थे । यस पटक प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्रीलाई पठाए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पनि ओली गएका छैनन् । हुन त यसअघि पनि प्रधानमन्त्री सिंहदरबारस्थित कार्यालय दैनिक जाँदैनथे । बालुवाटारस्थित निवासमै मन्त्रिपरिषद् बैठकदेखि भेटघाटलगायतका काम गर्ने छुट्टै कार्यालय छ ।

प्रधानमन्त्री ओलीले औपचारिकताका लागि भेट्न आउने केही व्यक्तिलाई पनि समय दिए । श्रीलंकाका लागि राजदूतमा सिफारिस नारद भारद्वाज प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न र औपचारिकताका लागि म गएको थिएँ,’ भारद्वाजले भने– ‘राजदूतमा सिफारिस भएपछि उहाँसँग भेट भएको थिएन, त्यसैले गएको हुँ, उहाँको स्वास्थ्य अवस्था राम्रो पाएँ ।’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले भने ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् । सिंगापुरमा ओलीको शरीरबाट ‘एन्टिबडी’ हटाउन प्लाज्माफेरेसिस गरेपछि पुनः एन्टिबडी उत्पादन हुन नदिन नयाँ औषधि चलाइएको छ ।

औषधिका कारण साइड इफेक्ट हुन सक्ने भएकाले केही सतर्कता अपनाउन चिकित्सकले भनेका छन् । त्यसैले उनले अझै केही दिन बालुवाटारबाटै नियमित काम गर्ने खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर