प्रदेश– ५ का मुख्यमन्त्री एवं सत्तारूढ नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले काठमाडौंमा केन्द्रित अभ्यास छिचोल्नु नै संघीयता कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।
‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन, आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीमा केही सञ्चार संस्थाका सम्पादकहरूसितको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले भने– ‘पानी तलैतिर बग्छ भनेजस्तै शक्ति काठमाडौंमै रहेछ ।’
‘केही गर्छु भन्नेलाई काठमाडौंमा जानुपर्छ’ भन्ने मानसिकताले जरा गाडेर बसेकाले संघीयता कार्यान्वयनमा सकस रहेको पोखरेलले बताए । संघीयता लागू भएपछि अधिकार तल गयो भन्ने बुझाइ रहे पनि त्यो नगएको उनले बताए ।
समाजशास्त्रीय मान्यतामा संघीयता र अधिकार विकेन्द्रित हुने भए पनि अर्थशास्त्रीको मान्यता केन्द्रीकृत नै रहेको उनको तर्क थियो । ‘यस्तो मानसिकता बदल्न सामान्य प्रयासले हुँदैन’– उनले भनेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।