newskoseli.Com

नेकपाको सचिवालय बैठक : के–के ब्रिफिङ गरे प्रधानमन्त्री ओलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँँडै नै नेपालको भ्रमण गर्ने सम्भावना रहेको जानकारी पार्टीलाई गराएका छन् । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले बुधबार बसेको नेकपाको सचिवालय बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्वतयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।

नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना छ । ‘दुई मुलुकबीचको सम्बन्ध र कतिपय द्विपक्षीय विषयमा सहमति गर्न राष्ट्रपति तहकै भ्रमण हुने सम्भावना रहेको प्रधानमन्त्रीबाट ब्रिफिङ भएको छ,’ सचिवालयका एक नेताले भने– ‘छिमेकी मुलुकहरूले नेपालसँगको सम्बन्धलाई अझै फराकिलो र मजबुत बनाउन चाहेको जानकारी प्रधानमन्त्रीले हामीलाई गराउनुभएको छ  ।’

चिनियाँ विदेशमन्त्रीको दुईदिने नेपाल भ्रमणका क्रममा ठूला केही सम्झौता भएनन्  । विदेशमन्त्रीस्तरको भ्रमणमा झिनामसिना विषयमा मात्र समझदारी भएको भन्दै आलोचना भइरहेको छ  । नेकपा सचिवालयका ती नेताले भने राष्ट्रपति तहको भ्रमणकै तयारीका लागि भएकाले विदेशमन्त्रीको भ्रमणमा ठूला विषयमा सहमति नभएको बताए  ।

‘ठूला विषय अहिले नपर्नुको अर्थ नै राष्ट्रपतिको भ्रमणमा ती विषय टुंग्याउने भन्ने हो,’ उनले भने– ‘त्यही खालको संकेत प्रधानमन्त्रीबाट हामीले पाएका छौं  ।’ चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लगायतसँग जोडिएका ठूला केही विषयमा द्विपक्षीय सहमति हुने विदेशमन्त्री वाङको भ्रमणअघि चर्चा भएको थियो तर ती विषय भ्रमणका क्रममा उठेनन्  ।

सिंगापुरमा १५ दिन उपचार गराएर फर्केपछि पहिलो पटक बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे ब्रिफिङ गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार भएको कुराकानी र पेट्रोलियम पाइपलाइन सुरु भएको विषयमा उनी प्रवेश गरेका थिए  । नेपालको बढ्दो व्यापार घाटालाई पेट्रोलियम पाइपलाइनले केही राहत दिने प्रधानमन्त्रीले बैठकमा उल्लेख गरे  ।

भारतीय समकक्षी मोदीलाई समेत आफूले नेपाल भ्रमणको निम्तो दिएको जानकारी प्रधानमन्त्री ओलीले बैठकमा गराए  । पाइपलाइन उदघाटनका बेला भएको कुराकानीअनुसार भारत नेपालसँगको सम्बन्ध अझै मजबुत बनाउन इच्छुक रहेको ओलीको भनाइ रहेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर