उपचारको बहानामा नीलकण्ठ नगरपालिका– ९, धादिङका राजु मगरको पेटमा एक लामा झाँक्रीले प्वाल पारिदिएका छन् । ब्लेडले पेट चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसको बिरामी परेका मगर जीवन–मरणको दोसाँधमा पुगेका छन् ।
नीलकण्ठ नगरपालिका– ३ का गजबहादुर लामाले मोटो रकम लिएर मगरको पेट चिरिदिएपछि छाडेका थिए । उपचारका लागि जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
बिरामी मगरको भदौ १५ मा पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले बताए । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकहाँ पुगेका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै बिकार तानेर निको पार्ने उनले बताएका थिए ।
सोही बेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधि दिएको र बिकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपियाँ रकम लिएर झाँक्री लामाले ब्लेडले देब्रे पट्टि पेटमा चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिइन् । पेट चिर्ने बेलामा झाँक्रीले बिरामीका श्रीमती र बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेट चिरेका थिए ।
पेट चिरेपछि आएको रगत समेत झाँक्री आफैंले चुसेर एउटा बाटामा थुकेको बिरामी मगरले बताएको खबर सीताराम अधिकारीको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।