गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो ।
थापा मंगलबार पक्राउ परेका छन् । तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरसँग भेट गरेको कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले पुष्टि गरेका छन् । ओझासँग थापाको पुरानो चिनाजानी समेत थियो । आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न आएको ओझाले पुष्टि गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन् । ‘२–३ महिनाअघि उहाँ (थापा) आउनुभएको हो । उहाँ तत्कालीन माओवादी कार्यकता तुलसीको साथमा आउनुभएको थियो’– ओझाको बयानमा उल्लेख छ । उता, सीआईबीसँगको बयानमा गृहमन्त्रीका भाइ नरेश थापाले भने सो आरोप अस्वीकार गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।