newskoseli.Com

संविधान दिवस : कतै उत्सव, कतै विरोधको तयारी (काे–काे छन् विराेधमा ?)

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो– ३ असोज । जनताबाट चुनिएका प्रतिनिधि (संविधानसभा) बाट यो संविधान ३ असोज, २०७२ मा घोषणा गरिएको थियो ।

हरेक वर्ष सो दिनलाई ‘संविधान दिवस’ का रूपमा निकै ‘हर्षोल्लास’ का साथ मनाइँदै आएको छ । यस वर्ष पनि ३ असोजमा ‘संविधान दिवस’ भव्य रुपमा मनाउन सरकारले सार्वजनिक बिदाको घोषणा गरिसकेको छ । संविधान दिवस मनाउनका लागि सरकारले भव्य रुपमा तयारी गरिरहेका बेला उक्त दिनलाई ‘कालो दिवस’ का रुपमा मनाउन अर्को पक्षले विरोधको तयारी गरिरहेको छ ।

संविधान दिवस मनाउने र विरोध गर्ने दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् । ३ असोजमा संविधान दिवस मनाउन सरकारले भव्य रुपमा तयारी गरिरहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । नेपाली जनताले लामो समयसम्म गरेको त्याग, तपस्या र बलिदान वर्तमान संविधानमा प्रतिबिम्बित भएको र जननिर्वाचित ऐतिहासिक संविधानसभाबाटै संघीय संविधान घोषणा भएको महत्त्वपूर्ण दिनलाई संविधान दिवसका रुपमा भव्यताका साथ मनाउन ठूलो तयारी गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले भने– ‘सबैको अधिकार सुरक्षित गरेको संविधान घोषणाको त्यो दिन देशैभर सरकारले मात्रै नभई आम नेपालीले खुसी साटासाट गरी भव्य रुपमा मनाउनेछन् ।’

तर, अर्कोतर्फ प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले ३ असोजलाई ‘विरोध दिवस’ का रुपमा मनाउने निर्णय गरेको छ । बबरमहलस्थित राजपा पार्टी कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले संविधान जारी भएको दिनलाई ‘विरोध दिवस’ का रुपमा मनाउने निर्णय गरेको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

त्यसैगरी, दसवर्षे जनयुद्धलाई संसदीय व्यस्थामै समाहित गरेर जनयुद्धका सम्पूर्ण उपलब्धिहरुलाई गुमाएको र जनयुद्धका मुख्य एजेन्डा सम्बोधन नै नगरेको भन्दै तत्कालीन नेकपा (माओवादी) कै वैचारिक–सैद्धान्तिक धारलाई निरन्तरता दिइरहेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘संविधान दिवस’ मनाउने गरेका छैनन् । उनीहरुले यो संविधानलाई नै सम्पूर्ण रुपले अस्वीकार गरेका छन् र यस दिनलाई ‘संविधान दिवस’ का रुपमा समेत स्वीकार गरेका छैनन् । किरणले अब नयाँ जनवादी गणतन्त्रात्मक संविधान घोषणा गर्नेपर्ने बताएका छन् भने विप्लवले चाहिँ सोझै वैज्ञानिक समाजवादी संविधान घोषणा गर्नुपर्ने भनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर