फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।
थापाले केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा बस्नेतलाई आफूले नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । ब्युरोसँगको बयानमा फिरौती संकलन धन्दाका आठ आरोपीमध्ये तीन जनालाई भने आफूले चिनेको नरेशले बताएका छन् ।
गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपी हुन् समीरमान बस्नेत । उनैसँग हिमचिम बढाएको आरोपमा गृहमन्त्रीका भाइ पक्राउ परेको फलो–अप समाचार जनकराज सापकोटाको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।