सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो ट्रिपर चलाउन रोक लगाइएको छ । तर पनि ट्रिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन । ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार अहिले रिङरोडभित्र ट्रिपरले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै प्रवेश पाउँछन् ।
निर्माण कार्यका लागि उपत्यका बाहिरबाट रोडा, बालुवा, इँट्टा र ढुंगा बोकेका ट्रिपर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भने उपत्यका भित्रिने नाकामै रोकिने गरेका छन् । साँझ ७ बजेपछि ती ट्रिपर अन्धाधुन्ध गतिमा राजधानीभित्र हुइँकिन्छन् । नेपाल यातायात व्यवसायी महासंघ, मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा ट्रिपर भित्रिने गरेका छन् ।
धादिङको मलेखुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन् । काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउने ट्रिपर साँगाबाट भित्रिने गरेका छन् । उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन् । उनका अनुसार उपत्यका बाहिर जुन तरिकाले ट्रिपर चलाइन्छ, यहाँ पनि त्यही तरिकाले चलाउँदा दुर्घटना घट्न नसकेको खबर आकाश क्षेत्रीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।